काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा आज जनकपुर बोल्ट र पोखरा एभेन्जर्स भिड्दैछन्।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुनेछ। जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने पोखरा प्रतियोगिताको पहिलो जित सुनिश्चित गर्ने लक्ष्यमा छ। जनकपुरको कप्तानी हरमित सिंहले गरेका छन् भने पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन्।

यसअघिका खेलमा जनकपुरले एक जित र एक हारको रेकर्ड बनाएको थियो। कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाडौं गोर्खामाथि जित हात पारेको हो। यसैबीच उद्घाटन खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

एनपीएलको पहिलो दुई संस्करणमा यी दुई टोलीले यसअघिका खेलमा एक–एक खेल जितेका छन्। २०२५ मा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको थियो भने २०२४ मा जनकपुरले पोखरालाई सात विकेटले हराएको थियो।