काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोरखाले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।
काठमाडौंका लागि भीम सार्कीले २९ बलमा चार चौकासहित ३३ रन बनाए। त्यस्तै राशिद खानले १७ रन, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
जनकपुरका लागि युवा फास्ट बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३१ रन दिएर चार विकेट लिए। सेफ हसनले दुई विकेट लिए भने कप्तान हरमित सिंह, ललित नारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए।
जारी प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो। प्रतियोगिताको पहिलो खेल काठमाडौंले खेल्दैछ।
आज हुने अर्को खेलमा विराटनगर किंग्सले कर्णाली याक्सको सामना गर्नेछ। दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ
उद्घाटन खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएपछि विराटनगर प्रतियोगितामा पहिलो जितको खोजीमा छ।
यसैबीच, कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टलाई १९ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्य राखेको छ।
मंसिर ५ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।


