काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत रु ७० करोडदेखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले उक्त अनुमान गरेका हुन्। क्यानले प्रायोजन, टिकट बिक्री र आम्दानीका अन्य स्रोतबाट यो रकम उठाउने अपेक्षा गरेको उनले बताए। उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनले मात्रै करिब २० करोड आम्दानी हुने अपेक्षा गरिएको छ।
टिकट बिक्री र अन्य स्रोतबाट हुने आम्दानीलाई समेत समावेश गरी क्यान अन्तर्गतको एनपीएलले रु ७० करोडदेखि रु ७५ करोडको आर्थिक कारोबार हुने प्रक्षेपण गरेको खड्काले बताए। उनले भने कि फ्रेन्चाइज टोली मालिकहरूले पनि क्यानले प्रतियोगितामा खर्च गरे बराबरको रकम खर्च गर्ने अपेक्षा गरिएको छ।
यी अनुमानका आधारमा एनपीएलको तेस्रो संस्करणले एक महिनाको अवधिमा गरेको समग्र आर्थिक गतिविधि करिब १ अर्ब ५० करोड पुग्न सक्ने खड्काले बताए।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पु¥याउने क्यानले अपेक्षा गरेको छ।


