काठमाडौं – कर्णाली याक्सले अनुबन्धित दुई बंगलादेशी क्रिकेटर आरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका छन्। फ्रेन्चाइजीले दुई खेलाडी प्रतियोगिताको तेस्रो संस्करणअघि नै आइपुगेको पुष्टि गरेको छ।
उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए।
आईसीसी अन्डर-१९ विश्वकपमा बंगलादेशको प्रतिनिधित्व गरेका आरिफुलले अष्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनले दुई अर्धशतक सहित सात खेलमा २१९ रन बनाए र प्रतियोगिताको सर्वाधिक रन स्कोररको सूचीमा तेस्रो स्थानमा रहे। उनले बंगलादेश प्रिमियर लिगको अघिल्लो संस्करणमा पनि सिलेट स्ट्राइकर्सबाट खेलेका थिए।
यसैबीच, २४ वर्षीय अकबर अलीको कप्तानीमा बंगलादेशले सन् २०२० मा पहिलो पटक आईसीसी अन्डर-१९ विश्वकपको उपाधि जितेको थियो। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि उचालेको थियो।
कर्णाली याक्सले दुई बंगलादेशी क्रिकेटरसहित चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। स्कटल्याण्डका मार्क वाट फ्रेन्चाइजीमा फर्किनेछन् भने पाकिस्तानी अलराउन्डर हुसेन तलत पनि टोलीमा सामेल भएका छन्।
कात्तिक ९ बाट सुरु हुने एनपीएलका लागि सोमपाल कामी टोलीका मार्की खेलाडी हुन्।
फ्रेन्चाइजमा राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झा र बलर नन्दन यादव पनि छन्। कर्णाली याक्सले अनुबन्ध गरेको अन्य खेलाडीमा विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारी रहेका छन्।


