पोखरा – एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन नेपालको राष्ट्रिय यू–१९ क्रिकेट टोली पोखराबाट सिधै ओमान प्रस्थान गरेको छ।

१५ सदस्यीय टोली सोमबार फ्लाईदुबईको उडानमा दुबई हुँदै ओमान उडेको थियो। प्रतियोगिता कार्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने तय भएको छ।

टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेश क्रिकेट संघ र कास्की जिल्ला क्रिकेट संघका पदाधिकारीलगायत शुभेच्छुकले बिदाइ गरेका थिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपस्थितिमा औपचारिक विदाई कार्यक्रम पनि आयोजना गरिएको थियो।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली टोली पोखराबाट सिधै प्रस्थान गरेकोमा आफूलाई गर्व लागेको बताए।

‘पोखराबाट टोलीलाई फ्लाईदुबई हुँदै ओमानमा दुबई पठाउन पाउँदा निकै खुसी लागेको छ,’ उनले खेलाडीले उच्च मनोबलका साथ असाधारण उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले टोलीको प्रशिक्षण स्थल पोखरालाई छनोट गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिए। उनले राष्ट्रिय टोलीको आयोजना नगरीका लागि गौरवको विषय भएको बताउँदै खेलाडीको मिहिनेत, लगनशीलता र टिमवर्कले सफलता हात पार्ने विश्वास व्यक्त गरे।

नेपाल यू–१९ कप्तान विपिनप्रसाद शर्माले पनि पोखराबाट सिधै दुबई हुँदै ओमान जान पाएकोमा खुशी व्यक्त गरेका छन्। विदेश जानुअघि काठमाडौंको यात्राको तुलनामा पोखराबाट प्रस्थान गर्दा समय बचत भएको उनले बताए।

"पोखरामा भएको तालिम धेरै राम्रो थियो। हामीले हाम्रो कडा परिश्रमलाई प्रतिबिम्बित गर्ने र देशलाई गौरवान्वित गर्ने नतिजा दिने आशा राखेका छौं," उनले भने।

मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले नतिजामा आफूलाई दबाब नदिई स्वतन्त्र रुपमा खेल्ने बताए। नेपाली खेलाडीले टेष्ट खेल्ने राष्ट्रका टिमविरुद्ध निर्भय भएर मैदान उत्रने उनले बताए।

"यो प्रतियोगिता नेपाली खेलाडी र देशको भविष्य र भाग्य परिवर्तन गर्ने अवसर हो। यति ठूलो मञ्चमा खेल्दा यो प्रतियोगितालाई विशेष महत्व दिन्छ," उनले भने।

प्रतियोगिताको तयारीका लागि नेपाली यू–१९ राष्ट्रिय टोलीले पोखरामा पाँच दिने बन्द प्रशिक्षण शिविर सम्पन्न गरेको छ।