काठमाडौं – भारतको गुवाहाटीमा जारी टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसामलाई ठूलो अन्तरले पराजित गरेको छ। नेपालले आसामलाई ९६ रनले पराजित गरेको छ। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो। नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए भने बसिर अहमदले ३ विकेट लिए। कमल सिंह ऐरी, आकाश चन्द र विवेक यादवले एक एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएर आसामलाई १७४ रनको लक्ष्य दिएको थियो। बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ असमसँग डीएलएस पद्धतिमा १५ रनले पराजित भएको थियो। नेपाल ‘ए’ ले आसामसँग कूल ५ खेल खेल्ने तालिका छ। बाँकी ३ खेलहरू एसीए स्टेडियममा दिन/रातका खेलहरू फ्लडलाइटमा हुनेछन्।