काठमाडौं – नेपाल समुह चरणमा लगातार तेस्रो हार बेहोरेपछि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को सुपर आठ चरणको दौडबाट बाहिरिएको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आज भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। सोमपाल कामीले २६ रनको योगदान दिए भने लोकेश बमले १३ रन जोडे। आसिफ शेख र गुलशन झाले ११–११ रन जोडे।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने म्याथ्यु फोर्ड, अकेल होसेन र रोस्टन चेसले एक एक विकेट लिए।
१ सय ३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५ ओभरमा मात्र एक विकेट गुमाएर सन्तोषजनक योगफल बनायो। शाई होपले ६१ रनको नेतृत्व गरे भने शिमरोन हेटमायरले ४६ रन जोडे। ब्रान्डन किङले २२ रन जोडे। नेपालका लागि नन्दन यादवले एक मात्र विकेट लिए।
यसअघिका दुई खेल इङ्ल्यान्डसँग चार रनले र इटालीसँग १० विकेटले पराजित भएपछि नेपाल जितको दबाबमा थियो। लगातार तीन हारसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ।
वेस्ट इन्डिज दुई पटकको T20 विश्वकप च्याम्पियन हो, जसले 2012 र 2016 मा उपाधि जितेको थियो।

