काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खालाई १ सय ८१ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा पठाएको कर्णालीले निर्धारित इनिङ्समा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए भने हुसेन तलतले ४० रनको योगदान दिए। गुलशन झाले २० रन, मार्क वाटले १७, दीपक डुम्रेले ८ र जिशान आलमले ७ रन जोडे।

पवन सर्राफ ३० रनमा अविजित रहे भने कप्तान सोमपाल कामी १ रनमा नटआउट रहे।

काठमाडौं गोर्खासका लागि कप्तान करण केसीले २ विकेट लिए। शाहब आलम, जहन्दद खान, देव शाह र सन्तोष यादवले एक एक विकेट लिए।

खेलमा काठमाडौं गोर्खालाई जितका लागि अब १८१ रन आवश्यक छ।