काठमाडौं – भारतले जारी टी–२० विश्वकपमा लगातार चौथो जित हात पारेको छ।

बुधबार सम्पन्न समूह ए को खेलमा भारतले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको हो। भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।

यो जितसँगै भारतले आफ्ना चारवटै खेल जितेर ८ अंकसहित समूह लिडरका रूपमा सुपर आठमा छनोट भएको छ। यसैबीच नेदरल्याण्ड्सले चार खेलमा एक जित र तीन हारबाट २ अंक जोडेर समूह चरणमा आफ्नो विश्वकप यात्रा समाप्त गरेको छ।

समूह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन्। समूह बी बाट श्रीलंका र जिम्बाब्वे छनोट भएका छन्। समूह सी, वेस्ट इन्डिज र इंग्ल्याण्डबाट; समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम आठमा पुगेका छन्।