काठमाडौं – भारतमा यही फेब्रुअरी ७ बाट सुरु हुन लागेको टी–२० विश्वकपका खेलहरु खेलाउने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको विवादले गम्भीर मोड लिएको छ।

बुधबार बसेको उच्चस्तरीय बैठकपछि आईसीसीले खेल तालिका परिवर्तन गर्न बंगलादेशको अनुरोधलाई अस्वीकार गरेको थियो।

भारतमा सुरक्षाको चिन्ता नरहेको बताउँदै आईसीसीले बंगलादेशलाई पूर्वनिर्धारित तालिका अनुसार खेल्न निर्देशन दिएको हो। आईसीसीले बंगलादेशले भारतमा खेल्न अस्वीकार गरे अंक काटिने र विपक्षी टोलीलाई विजेता घोषणा गर्ने चेतावनी दिएको छ।

यसैबीच बंगलादेश सरकार र क्रिकेट बोर्डले भने आफ्नो अडान कायम राखेका छन्।

ढाकामा पत्रकार सम्मेलनमा बोल्दै बंगलादेशी अधिकारीहरूले आफ्ना खेलाडी र समर्थकको सुरक्षामा कुनै सम्झौता नगर्ने बताए। उनीहरुले खेलहरु श्रीलंकामा सार्ने दबाब जारी राख्ने बताए।

विवादको मुख्य कारण बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट हटाउनु र दुई देशबीच बढ्दो राजनीतिक तनाव रहेको मानिन्छ।

बंगलादेशले भारतमा चार खेल खेल्ने तालिका छ – दुई-दुई कोलकाता र मुम्बईमा – जसमा नेपालसँगको खेल पनि समावेश छ।