काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदान वरपर अनावश्यक भीडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि सुरु भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गर्दै मैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको छ।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सबै टिकट बिक्री भइसकेको सम्बन्धित निकायले जानकारी गराएको बताए। त्यसैले उनले दर्शकहरुलाई अनावश्यक रुपमा रंगशाला बाहिर भिडभाड नगर्न आग्रह गरे।

प्रहरीले सुविधाजनक स्थानबाट खेल हेर्न, रंगशाला नजिकै भीडभाड नगर्न, सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सहयोग गर्न र नागरिक जिम्मेवारी पूरा गर्न क्रिकेटप्रेमीलाई आग्रह गरेको छ।