काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै सीमित भयो।

प्रतियोगिताको तेस्रो संस्करणमा चितवनका बलर कमलसिंह ऐरीले चार ओभरमा २६ रन दिएर चार विकेट लिएका थिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र ड्यान मौस्लीले एक एक विकेट लिए।

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ रन बनाए भने आन्द्रे रसेलले ३३ रनको योगदान दिए। अर्का ओपनर लोकेश बमले २६ रन, एन्जेलो म्याथ्युजले १४ र बसिर अहमदले १३ रन जोडे।

यसअघि चितवनका ओपनर डेभिड मलानले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ७० रन बनाएका थिए। रवि बोपाराले अविजित ३२, डेन मौस्लीले २९ र देव खनालले १२ रन जोडे।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालान्काले एक–एक विकेट लिए।

जितसँगै चितवनले २ अंक जोडेको छ। टोलीले आफ्नो दोस्रो खेल अक्टोबर ३१ मा लुम्बिनी लायन्ससँग खेल्नेछ।

विराटनगरले सोही दिन दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।