काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको आजको खेलमा जनकपुर बोल्टले काठमाडौं गोर्खासलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर ११७ रन बनायो।
जनकपुरका लागि मोइन अलीले ५१ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५८ रनको अविजित इनिङ्स खेले। त्यस्तै सैफ हसन ४० रनमा अविजित रहे। काठमाडौंका लागि रिपन मण्डलले एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक २९ बलमा चार चौकासहित ३३ रन बनाए।
त्यस्तै राशिद खानले १७ रन, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
जनकपुरका लागि राहुल यादवले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिए। सेफ हसनले दुई विकेट लिए भने कप्तान हरमित सिंह, ललित नारायण राजवंशी र मोइन अलीले एक एक विकेट लिए।
प्रतियोगिताको अर्को खेलमा आज विराटनगर किंग्सले कर्णाली याक्सको सामना गर्दैछ भने खेल साँझ ५ बजे सुरु हुनेछ।
उद्घाटन खेलमा चितवन राइनोजसँग ८ रनले पराजित हुँदै विराटनगर पहिलो जितको खोजीमा छ। यसैबीच, कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टलाई १९ रनले पराजित गर्दै लगातार दोस्रो जितको लक्ष्य लिएको छ।


