काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल स्कोर बनाएको थियो।

जवाफमा हैदरावादले ८ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा २४९ रनको लक्ष्य पछ्यायो।

मुम्बईका लागि रायन रिकेल्टनले उत्कृष्ट अविजित १२३ रन खेले। विल ज्याक्सले ४६ रन, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे।

हैदरावादका लागि प्रफुल हिङ्गेले २ विकेट लिए भने एशान मालिंगा, साकिब हुसेन र नितिश कुमार रेड्डीले १/१ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेडले ७६ रन बनाए भने हेनरिक क्लासेनले अविजित ६५ रन बनाए। अभिषेक शर्माले ४५ रन बनाए भने नितिश कुमार रेड्डी र सलिल अरोराले ३० रनको योगदान दिए।

मुम्बईका लागि एएम गजानफरले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले एक एक विकेट लिए।

यो जितसँगै हैदरावादले ९ खेलबाट १२ अंक जोडेको छ र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ८ खेल खेलेको मुम्बई ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।

१० टोलीको प्रतियोगिताको आजको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्ससँग अहमदाबादमा साँझ ७:४५ मा खेल्नेछ।