काठमाडौं – जारी इन्डियन प्रिमियर लिग २०२६ को सिजनमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। लुंगी एनगिडी र टी नटराजनको घातक बलिङपछि समीर रिजभी र ट्रिस्टन स्टब्सको आक्रामक ब्याटिङले दिल्लीलाई जित दिलायो।

लखनउको एकना स्टेडियममा बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले १८.४ ओभरमा १४१ रन बनाएर अलआउट भएको थियो। जवाफमा दिल्लीले १७.१ ओभरमा १४५/४ रन बनाएर सहजै लक्ष्य पछ्यायो।

१४२ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै केएल राहुललाई खाता खोल्न नदिई गुमाएको थियो। त्यसलगत्तै टोली २६/४ मा संघर्षरत थियो, पथुम निसाङ्काले १ रन, नितिश रानाले १५ रन बनाएका थिए भने कप्तान अक्षर पटेलले शून्य रनमा आउट भए।

तर, रिजभी र स्टब्सले ७६ बलमा पाँचौं विकेटका लागि ११९ रनको साझेदारी गर्दै खेलको काँटछाँट गरे र १७ बल बाँकी रहँदा टोलीलाई जित दिलाए। रिजवीले ४७ बल (५ चौका, ४ छक्का) मा ७० रन बनाएर अविजित रहे भने स्टब्स ३९ रनमा नटआउट रहे। लखनउका लागि प्रिन्स यादवले २० रनमा २ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले १/१ विकेट लिए।

यसअघि लखनउले १ सय ४१ रन मात्रै बनाउन सकेको थियो। कप्तान ऋषभ पन्त ७ रन बनाएर आउट भएकाले टोलीलाई दबाबमा पारेको थियो। मिचेल मार्सले ३५ रनको योगदान दिए भने एडेन मार्कराम (११)सँग २९ रनको साझेदारी गरे। एक चरणमा, लखनउ 71/5 थियो।

त्यसपछि अब्दुल समदले मुकुल चौधरीसँग ३४ र शाहबाज अहमदसँग ३३ रनको साझेदारी गर्दै इनिङ्सलाई स्थिरता दिलाएका थिए। समदले २५ बलमा ३६ रन बनाए भने शाहबाजले १५ रनमा अविजित रहे भने मुकुलले १४ रन जोडे।

दिल्लीका लागि नगिडी र नटराजनले ३–३ विकेट लिए भने कुलदीप यादवले २ तथा अक्षर पटेलले १ विकेट लिए।

योसँगै आईपीएलको चालू सिजनमा सबै टोलीले एक–एक खेल खेलेका छन्। सुरुवाती खेलपछि अंक तालिका प्रतिस्पर्धात्मक देखिन्छ। राजस्थान रोयल्स २ अंक र उत्कृष्ट नेट रन रेटका साथ शीर्ष स्थानमा छ। रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छन् — दुवैको २ अंक भए पनि नेट रन रेटको आधारमा राखिएको छ।

मुम्बई इन्डियन्स र पञ्जाब किंग्स क्रमशः चौथो र पाँचौं स्थानमा छन्। यसैबीच, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, र चेन्नई सुपर किंग्सले आफ्नो सुरुवाती खेल हारे र हाल तालिकाको तल्लो छेउमा छन्।