काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले टस जितेर स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। सुपर सिक्समा छनोट हुन नेपाललाई स्कटल्याण्डविरुद्धको जित आवश्यक छ।
तर, जितले मात्रै नेपालको प्रगतिको ग्यारेन्टी हुँदैन। समूह ‘बी’को अर्को खेलमा थाइल्याण्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजाले पनि नेपालको सम्भावनालाई असर गर्नेछ।
नेपालले स्कटल्याण्डलाई ठूलो अन्तरले हराए र नेदरल्याण्ड्सले थाइल्याण्डलाई हराएमा नेपाल नेट रन रेटका आधारमा सुपर सिक्समा छनोट हुन सक्छ।
नेपाल स्कटल्याण्डसँग हारे भने प्रतियोगिताबाट बाहिरिने छ। त्यसमा स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा पुग्नेछन् भने नेदरल्यान्ड्सले आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
थाइल्याण्ड र नेदरल्यान्ड्ससँगको खेलमा पराजय भोगेको नेपालले जिम्बावेलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो।


