काठमाडौं – नेपालले घरेलु मैदानमा जारी प्रतियोगितामा जिम्बाब्वेलाई पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स चरणमा पुग्ने आफ्नो आशा जीवित राखेको छ।

शनिबार कीर्तिपुरमा भएको तेस्रो खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो। छनोटमा नेपालको यो पहिलो जित हो र यसले समूह बी बाट आफ्नो सुपर सिक्स छनोटको आशालाई जीवित राख्यो। ढाँचा अनुसार प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालले आफ्नो पहिलो दुई खेल हारे र त्यसैले प्रतियोगितामा रहन जिम्बावेलाई हराउनुको विकल्प थिएन। उसले यसअघि थाइल्याण्डसँग ८ विकेटको हार बेहोरेको थियो भने नेदरल्याण्डसँग दुई रनले हार बेहोरेको थियो। नेदरल्याण्ड यस समूहबाट सुपर सिक्समा स्थान पक्का गरिसकेको छ।

नेपालले अब आफ्नो अन्तिम समूह खेलमा जनवरी २६ मा स्कटल्याण्डको सामना गर्नेछ। सुपर सिक्समा छनोट हुन नेपालले अन्य नतिजामा पनि भर पर्नु पर्नेछ। नेपालका लागि नेदरल्याण्ड्स र थाइल्याण्डबीचको खेल विशेष महत्वपुर्ण रहनेछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाललाई १३० रनको मामूली लक्ष्य दिइएको थियो तर त्यसलाई पछ्याउन संघर्ष गर्नुपरेको थियो। नेपालले १९.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। उपकप्तान पूजा महतोले ५२ रन बनाएर अविजित रहिन्। उनले ५० बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरिन्। कप्तान इन्दु बर्माले २२ रन बनाइन् भने विन्दु रावलले १५ रनको योगदान दिएकी थिइन्।सिता राना मगरले ११ रन बनाएर रिटायर हर्ट भइन्।

जिम्बावेले २१ अतिरिक्त रन दिएपछि नेपालको लक्ष्य पछ्याउन सजिलो भयो। जिम्बाब्वेका लागि जोसेफिन एनकोमोले २ विकेट लिए भने नोम्बोलो सिभान्डा र क्रिष्टबेल चाटोन्ज्वाले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चौथो नम्बरमा ब्याटिङ गर्दै केली एन्ड्लोवुले अविजित ५२ रनको इनिङ्स खेलिन्। कविता कुँवरले पहिलो ओभरमा आठ रनमा चिपो मुगेरीलाई बोल्ड गरेपछि नेपालले बलबाट राम्रो सुरुवात गरेको थियो। तर, बेलभ बिजा र मोडेस्टर मुपाचिक्वाले दोस्रो विकेटका लागि ४५ रन जोडेर इनिङ्सलाई निरन्तरता दिए।

बेलभडले ३४ रन बनाए भने मोडेस्टर १४ रनमा आउट भए। अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् तर केलीको अर्धशतकले जिम्बाब्वेलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन मद्दत गर्यो।

नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन दिएर दुई विकेट लिइन्। कविता कुँवर, उपकप्तान पूजा महतो, सीता राना मगर र रुविना क्षेत्रीले एक–एक विकेट लिए।

तीनवटै खेल हारेर अंकविहीन रहेको जिम्बाब्वे सुपर सिक्सको दौडबाटै बाहिरिएको छ। शनिबारको दिनको पहिलो खेलमा स्कटल्याण्डले थाइल्याण्डलाई पाँच विकेटले पराजित गर्दै जिम्बाब्वेको अर्को चरणमा पुग्ने सम्भावनालाई आधिकारिक रूपमा समाप्त गर्यो।