काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डसँगको हार बेहोरेको बताइन्।

आइतबार उद्घाटन खेलमा थाइल्यान्डसँग नेपालको हारपछि बोल्दै कप्तान इन्दुले मध्यक्रमले प्रदर्शन गर्न नसकेपछि टोली ३० देखि ४० रनले पछाडि परेको बताए। उनले ओपनर विन्दु रावल र सम्झना खड्काको राम्रो सुरुवात गरेकोमा प्रशंसा गरे तर मिडल अर्डरले त्यसलाई सदुपयोग गर्न नसकेको स्वीकारे।

इन्दुले आफू, पूजा महतो र रुबिना क्षेत्रीको प्रारम्भिक आउटले दबाब सिर्जना गरेको र नेपाललाई न्यून स्कोरमा सीमित गरेको बताइन्। "राम्रो ओपनिङ साझेदारी पछि, मध्यक्रममा छिट्टै विकेट गुमाउँदा समस्या उत्पन्न भयो। त्यसैले हामी ३० देखि ४० रन कम छौँ," उनले भनिन्। उनले मिडल अर्डरले जिम्मेवारीपूर्वक ब्याटिङ गरेको भए नेपालले १५० रनको अंक पार गर्न सक्ने बताइन्।

कप्तानले आगामी खेलहरूमा मध्यक्रमले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै टोली बलियो भएर फर्कने विश्वास व्यक्त गरे। उनले टिमले योजनाअनुसार विभिन्न पक्षमा काम गरिरहेको बताउँदै अघिल्लो प्रदर्शनको तुलनामा ब्याटिङमा सुधार आएकोमा सन्तुष्टि व्यक्त गरे। इन्दुले मिडल अर्डरमा लामो समय क्रिजमा रहँदा नतिजा परिवर्तन हुनसक्ने बताइन्, तर सानो सुधार भइरहेकोमा उनी विश्वस्त छिन्।

यसैबीच, थाइल्यान्डका कप्तान नरुमोल चाइवाईले आफ्ना बलरहरूले उत्कृष्ट पुनरागमन गरेकाले जित सहज भएको बताए। उनले नेपालको ब्याटिङमा आएको सुधारलाई स्वीकार गर्दै हरेक बलमा राम्रो प्रतिस्पर्धा गरेकोमा नेपाली खेलाडीको प्रशंसा गरिन्। उद्घाटन खेलमा जितले थाइल्याण्डको अगाडी बढ्ने आत्मविश्वास बढाउने चाइवाइले आशा व्यक्त गरे।