आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो अभ्यास खेलमा नेपाल महिला आयरल्याण्डसँग पराजित भएको छ। बुधबार काठमाडौंको तल्लो मूलपानी क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा आयरल्याण्डले नेपाललाई ९९ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रनको विशाल स्कोर बनाएको थियो। नेपालले आयरल्याण्डको इनिङ्समा आठ फरक बलर प्रयोग गरेको थियो। जवाफमा नेपाल १९ ओभरमा १०१ रनमा अलआउट भयो।

नेपाल महिला क्रिकेट २०२५ (रिक्याप): यहाँ क्लिक गर्नुहोस्

आयरल्यान्डका कप्तान गेबी लुइसले ३८ बलमा १२ चौका र दुई छक्का सहित ७७ रनको उत्कृष्ट पारी खेले। उनले आफ्नो टोलीलाई बलियो स्थितिमा पुर्‍याएर सन्यास लिइन्। ओर्ला प्रेन्डरगास्टले पनि २९ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ६२ रनको आक्रामक पारी खेलिन् र उनी पनि रिटायर भइन्। लेह पलले २१ रन जोडे भने अर्लेन केलीले सानो तर उपयोगी ११ रन जोडे।

नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले तीन ओभरमा १७ रन दिएर दुई विकेट लिएकी थिइन्। युवा स्पिनर रिया शर्माले एक विकेट लिए तर तीन ओभरमा ४३ रन दिए। बाँकी नेपाली बलरहरू आयरल्याण्डको बलियो ब्याटिङ आक्रमणमा प्रभावहीन देखिए।

कुशल मल्ल किन छैनन् विश्वकप टोलीमा: यहाँ क्लिक गर्नुहोस्

२०१ रनको लक्ष्य पछ्याएको नेपालले सुरुमै विकेट गुमायो र सुरुदेखि नै दबाबमा आएको थियो। नेपालका लागि ओपनर बिन्दु रावलले २५ रन बनाए भने नेपालका लागि कविता जोशीले २९ बलमा २८ रन जोडे। तर, नेपालले कुनै महत्वपूर्ण साझेदारी बनाउन सकेन र नियमित अन्तरालमा विकेट गुमाउने क्रम जारी रह्यो। अघिल्ला तीन अभ्यास खेलमा राम्रो प्रदर्शन गरेपनि आयरल्याण्डविरुद्धको खेलमा सम्झना खड्का शून्य रनमा आउट भएकी थिइन्।

कप्तान इन्दु बर्माले १० बलमा १२ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

आयरल्याण्डको बलिङ आक्रमण पनि उत्तिकै प्रभावशाली थियो। ओर्ला प्रेन्डरगास्ट र एमी मागुइरेले किफायती स्पेलका साथ दुई-दुई विकेट लिए भने लारा म्याकब्राइड र अर्लेन केलीले पनि दुई-दुई विकेट लिएर नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे।

यो हारले नेपाली महिला टोलीको समग्र संरचनामा गम्भीर प्रश्न खडा गरेको छ। ब्याटिङ, बलिङ र फिल्डिङमा नेपालले आयरल्याण्डविरुद्ध कुनै पनि क्षेत्रमा प्रदर्शन गर्न सकेन। समूह बी मा नेपालसँगै स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे र नेदरल्याण्ड रहेका छन्। टोलीले अब जनवरी १६ मा आफ्नो अर्को अभ्यास खेलमा युएसए वुमनसँग खेल्नेछ।