काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोरखाका भीम सार्की सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन्। भीमले पोखरा एभेन्जर्सविरुद्ध आज मात्र १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
यसअघि एनपीएलमा कुनै पनि नेपाली ब्याट्सम्यानले यति छिटो अर्धशतक बनाउन सकेका थिएनन्। यस सिजनको सुरुमा सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी हरमित सिंहले काठमाडौंविरुद्ध १९ बलमा अर्धशतक बनाएका थिए।
भीमको आजको प्रदर्शनले हर्मितको कीर्तिमान बराबरी गरेको छ। तर गत सिजन जनकपुर बोल्टका जिम्मी निशमले १८ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए। भीमको आजको अर्धशतकसँगै यस संस्करणमा विभिन्न २५ खेलाडीको योगदानमा कुल अर्धशतकको संख्या २९ पुगेको छ। यस सिजनको सुरुमा चितवन राइनोजका रवि बोपाराले तीन अर्धशतक बनाएका थिए भने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियांक पञ्चालले दुई–दुई रन बनाएका थिए।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोस ब्राउन, हरमित सिंह, इशान पाण्डे; विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद; पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङ्टन; चितवनका दाविद मालन र अर्जुन साउद; काठमाडौं गोर्खाका जोन सिम्पसन र बेन चार्ल्सवर्थ; कर्णालीको मार्क वाट; लुम्बिनीको डी'आर्सी सर्ट; र जनकपुर बोल्ट्सका वेन पर्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकात, अनिल शाह र आसिफ शेखले समान एक-एक अर्धशतक बनाएका छन्।
जारी प्रतियोगितामा कर्णालीका मार्क वाट र पोखराका एडम रोजिङ्टनले मात्र शतक बनाएका छन्।


