काठमाडौं – भारतले पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। श्रीलंकाको कोलम्बोमा आज भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा तीन विकेट गुमाएर पछ्यायो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफमा भारतले तीन विकेट गुमाएर ११७ रन बनाएको थियो।
भारत र श्रीलंकामा भएको प्रतियोगितामा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका र अमेरिकाका टोलीले पनि सहभागिता जनाएका थिए।
फाइनलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन् भने नेपालकी सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाएकी थिइन्।
क्रिकेटको यो ढाँचामा ब्याटरहरूलाई बलको स्थिति पहिचान गर्न मद्दत गर्ने बियरिङ भएको प्लास्टिकको सेतो बल प्रयोग गरिन्छ। बल डेलिभर गर्नु अघि बलरहरूले घोषणा गर्नुपर्छ। नियमित क्रिकेट जस्तै, एक टोलीमा 11 खेलाडीहरू हुन्छन्, तर नियमहरूले प्रत्येक टोलीमा कम्तिमा चार पूर्ण दृष्टिविहीन खेलाडीहरू आवश्यक पर्दछ।

