काठमाडौं, २१ असोज – मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले जित हात पार्दै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ।
मलेसियामा आज भएको खेलमा नेपालले आयोजकलाई ६ विकेटले पराजित गरेको हो।
यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले जित हात पारेको थियो। तेस्रो खेलमा मलेसिया १३ रनले विजयी भएको थियो।
चौथो खेलमा मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेट गुमाएर सफल पारेको थियो।
कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनको महत्वपूर्ण नटआउट खेलीन् भने रुविना क्षेत्रीले २३ बलमा २३ रनको योगदान दिएकी थिइन्।
मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजाह र माहिरा इज्जतीले एक एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १११ रन जोडेको थियो। मास एलिसाले अविजित ५६ रन बनाइन् भने माहिराले १८ र नुर दानियाले १५ रन बनाए।
बलिङतर्फ नेपालकी कविता कुँवरले तीन विकेट लिएकी थिइन्। पूजा महतो र कविता जोशीले एक–एक विकेट लिए।
सिरिजको निर्णायक पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ।

