नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारी अन्तर्गत जर्सी भ्रमणको क्रममा शृंखला क्लीन स्वीप गरेको छ। बुधबार जर्सीको ग्रेनभिलस्थित राष्ट्रिय क्रिकेट केन्द्रमा भएको दोस्रो खेलमा नेपालले जर्सीलाई डीएलएस विधिबाट ७ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरे पनि दोस्रो खेलमा जर्सीका ब्याट्सम्यानले त्यो निर्णय गलत साबित गरे। जर्सीले नेपालविरुद्ध निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८२ रनको विशाल स्कोर बनाएको थियो। वर्षाले खेल अवरुद्ध हुँदा २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको थियो। खेल जारी रहन नसकेपछि नेपाल डीएलएस पद्धतिमा ७ रनले विजयी घोषित भएको थियो।

जर्सीका लागि प्याट्रिक गौजले ११० बलमा १० चौका र २ छक्का सहित ९५ रन बनाएर सर्वाधिक स्कोरर बने। ह्यारिसन कार्लियोनले ८० बलमा ५६, जाक मार्क ट्राइबले ३७ बलमा ५०, निक ग्रीनवुडले ४५ बलमा ३२ र कप्तान जोन्टी विलियम जेनरले १५ बलमा २७ रन जोडे।

नेपालका बलर करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए। सोमपाल कामी, हेमन्त धामी, गुलशन झा, नन्दन यादव, कुशल भुर्तेल र कप्तान आरिफ शेख विकेटविहीन रहे।

रन चेजमा इशान पाण्डेले ११५ बलमा १४ चौका प्रहार गर्दै ९० रनको उत्कृष्ट इनिङ्स खेले। कुशल भुर्तेलले ४२ बलमा ७ चौका प्रहार गर्दै ५१ रन बनाए भने भीम सार्कीले ५१ बलमा ३७ रनको योगदान दिए।

इनिङ्सको अन्त्यसम्म दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ३४ रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा २१ रन बनाएर अविजित रहे नेपाललाई जित दिलाउन सफल भए। आसिफ शेख १ रनमा आउट भए भने कप्तान आरिफ शेखले ३ रन बनाए।

जर्सीका लागि चार्ल्स पर्चार्डले २ विकेट लिए भने जुलियस सुमेराउर र स्कट भान ब्रेडाले १/१ विकेट लिए।

दुई टोलीबीचको पहिलो एकदिवसीय खेल पनि नेपालले जितेको थियो। उक्त खेलमा नेपालले २५०/८ रन बनाएको थियो भने जर्सी १६९ रनमा आउट भएको थियो।