काठमाडौं – हेमन्त धामीको चार विकेट र खडक बोहराको अर्धशतकको मद्दतले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ।

 

वीरगन्जमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। कोशीले दिएको १३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य पुरा गर्यो।

 

खडकले ४५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन बनाए भने किरण ठगुन्नाले २५ रनमा अविजित रहे। ओपनर अभिषेक पालले १४ रनको योगदान दिए। कोशीका लागि विपिन महतोले २ तथा ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए।

 

टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४३.४ ओभरमा १३० रनमा अलआउट भयो। शिवांश बजगाईले सर्वाधिक २५ रन बनाए भने सुमन श्रेष्ठले २४, दिपेश कँडेलले २० र फिरदोश अन्सारीले १८ रन बनाए।

 

हेमन्त धामीले ९ ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिए। किरण, नारायण जोशी र सौर्य श्रेष्ठले क्रमशः २, १ र १ विकेट लिए।

 

सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली प्रदेशसँग जित हात पारेको थियो भने दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित भएको थियो। कोशीले भने लगातार तेस्रो हार बेहोरेको थियो भने आफ्नो पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।