पोखरा – आयोजक प्रतिभा माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले प्रतियोगिता आयोजना गर्न लागेको हो। यो उपलब्धिसँगै प्रतिभा मावि सेमिफाइनल प्रवेश गर्ने तेस्रो विद्यालय बनेको छ। यसअघि बालमन्दिर मावि र छोरेपाटन मावि सेमिफाइनलमा पुगेका थिए।

अब सेमिफाइनलको एउटा मात्रै स्थान बाँकी छ। फाइनलका लागि गुरुकुल मावि र मातृभूमि माध्यमिक विद्यालय भिड्दैछन्, जसको निर्णय शुक्रबार हुने खेलमा हुनेछ। दुवै टोलीले एक–एक खेल जितेकाले शुक्रबारको खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

बिहीबार भएको खेलमा प्रतिभा माविले नेपाल–भारत फ्रेन्डसिप स्कुललाई ८४ रनले पराजित गरेको हो। आफ्नो उद्घाटन खेलमा वाराही माविलाई ३ विकेटले पराजित गर्दै प्रतिभाले लगातार दुई खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको हो।

शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको प्रतिभा माविले पूरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४० रन बनाएको थियो। प्रतिस्पर्धात्मक लक्ष्य तय गर्दा सहबुद्दीन अन्सारीले ४८ बलमा अर्धशतक सहित ६१ रन, मिसन विकले २४ बलमा २१ रन र सफल थापाले २६ बलमा २० रन जोडे।

नेपाल–भारत फ्रेन्डसिप स्कुलका लागि समी उल्लाह आलमले ४ ओभरमा २० रन दिएर २ विकेट, विवेक कुमारले ४ ओभरमा १६ रन दिएर २ विकेट र सत्यानन्द उपाध्यायले ३ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए।

१४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल–भारत फ्रेन्डसिप स्कुल ११ ओभरमा ५६ रनमा अलआउट भयो। प्रतिभाका बलरहरु विरुद्ध उनीहरुका अधिकांश ब्याट्स असहाय देखिन्थे। बलिङमा निश्चल दाहालले २ ओभरमा ९ रन दिएर ५ विकेट लिए भने सफल थापाले ४ ओभरमा १३ रन दिएर ३ विकेट र सफल श्रेष्ठले २ ओभरमा २५ रन दिएर १ विकेट लिए।

५ विकेट लिएका प्रतिभाका निश्चल दाहाल प्लेयर अफ द म्याच घोषित भए।

शुक्रबार भएको अर्को खेलमा गुरुकुल माध्यमिक विद्यालयले जनप्रिया माविलाई ११० रनको ठूलो अन्तरले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ। टस जितेर जनप्रियाले पहिले बलिङ रोजेकी थिइन्। पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभर सबै खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। विवेक अधिकारीले ३७ बलमा ४१ रन, सुदीप सुनारले १५ बलमा २६ रन र इलोन भट्टले २८ बलमा २४ रन जोडे।

जनप्रियाका लागि हेमराजप्रसाद उपाध्यायले ४ ओभरमा १८ रन दिएर २ विकेट, मौसम भट्टराईले ४ ओभरमा २५ रन दिएर २ विकेट र सम्राट क्षेत्रीले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याएको जनप्रिया माध्यमिक विद्यालय ८.३ ओभरमा सबै विकेट गुमाएर ३४ रनमा मात्रै ढलेको थियो। सन्देश स्याङ्तानको १४ बलमा १० रन बाहेक अरु कुनै ब्याट्सम्यानले प्रदर्शन गर्न सकेनन्।

गुरुकुलका लागि सुदिप सुनारले २.३ ओभरमा २ रन दिएर ३ विकेट, हेमन्त नेपालीले १ ओभरमा ४ रन दिएर २ विकेट र प्रोमिस गैरेले २ ओभरमा ७ रन दिएर २ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच गुरुकुलका सुदीप सुनार घोषित भए।

प्रतियोगिताको तालिका अनुसार शुक्रबारको पहिलो खेल मदरल्याण्ड सेकेन्डरी स्कूल र गुरुकुल माविबीच हुनेछ भने दोस्रो खेल कुमुदिनी होम्स र टप्स सेकेण्डरी स्कूलबीच हुनेछ। शुक्रबारको खेलसँगै सेमिफाइनलको लाइनअप टुंगिनेछ।