काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दैछ।
नेपालमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप छनोटको पूर्व तयारीमा नेपालले अमेरिका, स्कटल्याण्ड र जिम्बावेसँग सिरिज खेल्दैछ। नेपालले शुक्रबार स्कटल्याण्ड र आइतबार जिम्बावेसँग खेल्नेछ।
नेपालमा अर्को साताबाट सुरु हुने आईसीसी महिला टी–२० विश्वकप छनोटमा नेपालले बंगलादेश, आयरल्याण्ड र जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ।
बंगलादेश, आयरल्याण्ड र जिम्बाब्वेको सिनियर महिला टोलीले नेपालमा खेलेको यो पहिलो पटक हो। टेस्ट खेल्ने राष्ट्रको राष्ट्रिय टोलीले नेपालमा खेल्ने यो पहिलो अवसर हो।
हाल विश्वका १२ देशमा मात्रै क्रिकेटमा टेस्ट मान्यता छ। तीमध्ये अफगानिस्तानसँग महिला टोली छैन।
विश्व नम्बर एक अष्ट्रेलियासँगै इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, श्रीलंका, पाकिस्तान र वेस्ट इन्डिज यसअघि नै इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्।
बंगलादेश, आयरल्याण्ड र जिम्बाब्वेका महिला टोलीले विश्वकपमा छनोट हुन ग्लोबल क्वालिफायर खेल्नेछन्।
यी तीन टेष्ट राष्ट्रका महिला टोली अर्को साताबाट सुरु हुने ग्लोबल क्वालिफायरको तयारीका लागि नेपालमा खेल्दैछन्। नेपाल र जिम्बाब्वेबीचको खेल माघ १० (२४ जनवरी) मा हुनेछ। नेपाली महिला टोलीले टेष्ट खेल्ने राष्ट्रको महिला टोलीसँग घरेलु खेल खेलेको यो पहिलो पटक हो।
समूह चरणमा समूह ए मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्। समूह बी मा नेपाल, स्कटल्याण्ड, थाइल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाब्वे रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल जनवरी १८ मा थाइल्याण्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। नेपाल पहिलो पटक एसिया छनोटबाट अगाडि बढ्दै ग्लोबल क्वालिफायरका लागि छनोट भएको हो।
प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोलीले सन् २०२६ मा हुने आईसीसी महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

