काठमाडौं – चितवनमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि घरेलु टोली चितवन क्रिकेट क्लबले जितेको छ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा ​​भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको फाइनलमा चितवनले विभागीय टोली एपीएफ क्लबलाई एक विकेटको रोमाञ्चक अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

उपाधिसँगै चितवनले चार लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एपीएफ क्लबले दुई लाख रुपैयाँ प्राप्त गरेको छ। पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ६ विकेट गुमाएर १४३ रन बनाएको थियो। दीपक बोहराले सर्वाधिक ४७ रन बनाए भने सुमित महर्जनले २८, अमरसिंह रौतेलाले २५ र सलाहुद्दिन खानले २२ रन जोडे। चितवनका लागि दिपेश कँडेलले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए।

१ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले एक बल बाँकी रहँदै ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। दोस्रो विकेटका लागि दीपक प्रसाद डुम्रे र शुभ कंशाकारले ९५ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनको इनिङ्सलाई स्थिर बनायो। शुभा कंशाकरले ३७ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै ६७ रन बनाइन्।

दीपक डुम्रेले ३ छक्का र १ चौका प्रहार गर्दै ३७ रन जोडे। चितवनका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अन्तिम बलमा ४ रन चाहिएको बेला विपिन खत्रीले दिनेश अधिकारीलाई छक्का प्रहार गर्दै चितवनलाई ऐतिहासिक जित दिलाए।

एपीएफका इरशाद अहमदले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए पनि उनको प्रयास जित दिलाउन पर्याप्त भएन।

त्रिभुवन आर्मी क्लबका त्रितराज दासले ३१० रन बनाएर ६ विकेट लिएर अलराउन्ड प्रदर्शन गरेबापत प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। दिल्ली वन्डर्सका मोहम्मद कैफ उत्कृष्ट ब्याटर घोषित भए भने चितवन क्रिकेट क्लबका दिपेश कँडेल उत्कृष्ट बलर घोषित भए।

प्रतियोगितामा मोहम्मद कैफले ३१८ रन बनाए भने दिपेश कँडेलले १६ विकेट लिए। यसैबीच आइतबार भएको तेस्रो स्थानको प्लेअफ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिल्ली वन्डर्स क्रिकेट क्लबलाई पराजित गरेको छ।

१९८ रनको लक्ष्य पछ्याएको दिल्ली वन्डर्सले ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सक्यो र आर्मीले ३६ रनले जित हात पार्दै तेस्रो स्थान हासिल गर्यो।