पोखरा – डायमण्ड सेकेन्डरी स्कूल हिमालयन क्रिकेट एकेडेमी कप २०८२ अन्डरस्कूल पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बुधबार ग्लोबल स्कुललाई १८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि प्रतियोगिताको पहिलो खेल टप्स र लाभिनबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको टप्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

सुजन थारुले ४० बलमा ३८ रन बनाए भने शिवप्रसाद सुवेदीले २० बलमा ३३ रन बनाए। निश्चल अधिकारीले पनि २७ बलमा २० रन जोडे। लभिनका लागि आरबी मानन्धर र प्रज्वल गुरुङले समान २–२ विकेट लिए।

जवाफमा लभिन अनुशासित बलिङ विरुद्ध संघर्ष गर्दै १३.५ ओभरमा ४३ रनमा अलआउट भयो। अभिजंग कुँवरले १२ बलमा ९ रन बनाउन सफल भए। टपका बलर साजन शर्माले आफ्नो चार ओभरमा मेडन ओभरसहित ७ रन मात्रै दिएर पाँच विकेट लिए।

अनुज शर्माले १२ रनमा तीन विकेट लिएर बलियो साथ दिए। उत्कृष्ट प्रदर्शन गरेबापत साजन शर्मा म्यान अफ द म्याच घोषित भए।दोस्रो खेलमा डायमण्ड सेकेण्डरी स्कुलले ग्लोबल स्कुल विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको थियो। डायमण्ड २० ओभरमा ११७ रनमा अलआउट भयो।

अविरल पोखरेलले २६ बलमा २९ रन बनाए भने अशोकराज तिमिल्सिनाले २६ बलमा २० रन जोडे। ग्लोबलका लागि सक्षम सापकोटाले चार ओभरमा ११ रन दिएर तीन विकेट लिए भने कबिर खत्रीले १७ रन दिएर दुई विकेट लिए।

११८ रनको लक्ष्य पछ्याएको ग्लोबल स्कुलले २० ओभरमा ६ विकेट गुमाएर ९९ रन बनाउन सफल भयो। अर्जुन वाग्लेले ३९ बलमा १७ रन बनाए भने कबिर खत्रीले २२ बलमा १९ रनको योगदान दिए।

डायमण्डको बलिङ आक्रमणको नेतृत्व साबुद सुवेदीले गरेका थिए जसले चार ओभरमा १७ रन दिएर तीन विकेट लिएका थिए। अन्तत: डायमण्डले खेल १८ रनले जित्यो, अविरल पोखरेल म्यान अफ द म्याच घोषित भए।