काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको समूह चरणको अन्तिम खेल आज हुँदैछ।
खेलमा समूह चरणबाटै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्टले आमनेसामने गर्नेछन्।
खेल आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यद्यपि कुनै पनि टोली समूह चरणबाट अघि बढ्न सकेनन्, तर दुवैको लक्ष्य जितका साथ सकारात्मक नोटमा टुर्नामेन्ट समाप्त गर्ने लक्ष्य हुनेछ।
प्रतियोगिताको प्लेअफको समीकरण यसअघि नै पक्का भइसकेको छ। सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौं गोर्खा र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेका छन्।
मंगलबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सको सामना गर्नेछ। उक्त खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले काठमाडौं र लुम्बिनीबीचको एलिमिनेटरको विजेतासँग खेलेर फाइनलमा पुग्ने दोस्रो मौका पाउनेछ।

