काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्टले काठमाडौं गोरखालाई १३१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा पठाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५० रन बनाए। कप्तान अनिल साह शून्य रनमा आउट भए।

मायन यादव ३१ रनमा अविजित रहे भने लाहिरु समाराकुनले २२ रनको योगदान दिए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। लाहिरु मिलन्थाले ७ र सञ्जय कृष्णमूर्ति र जान निकोलले २–२ रन बनाए।

बलिङतर्फ काठमाडौंका मिलिन्द कुमारले ३ विकेट लिए भने करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगितामा सिंगल राउण्ड रोबिन ढाँचा र त्यसपछि एलिमिनेटर र क्वालिफायर गरी मंसिर २७ गते फाइनल खेल हुनेछ। यस संस्करणमा कुल ३२ खेल हुनेछन्।