काठमाडौं – ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरणको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको खेलमा नेपालले सुपर सिक्समा लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक भिडन्तमा मात्र एक रनले पराजित गरेको थियो।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका लागि ओपनर इमल लियानागेले ३५ बलमा ५५ रन बनाए भने जुबैर अलीले ५२ रनको योगदान दिए।

नेपालका लागि स्टार लेग स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिए। नन्दन यादवले दुई तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २६ रन जोडे भने गुलसन झाले १६ रन जोडे।

कतारका लागि कप्तान मिर्जा बेग र ड्यानियल लुइसले ३/३ विकेट लिए भने मोहम्मद असिमले एक विकेट लिए।

नेपाल समूह चरणमा कुवेत र जापान दुवैलाई पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्समा पुगेको हो।