काठमाडौं – नेपाल ‘ए’ र आसाम क्रिकेट संघबीचको पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलबाट टुंगो लाग्ने भएको छ।
गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा आइतबार भएको चौथो टी–२० खेलमा घरेलु टोली आसामले नेपाल ‘ए’ लाई १८ रनले पराजित गरेको छ। यो नतिजासँगै सिरिज अब २–२ को बराबरीमा पुगेको छ।
यसअघि पहिलो खेल १५ रनले पराजित भएको नेपालले दोस्रो खेल ९६ रनले र तेस्रो खेल ९ रनले जितेर बलियो पुनरागमन गरेको थियो। चौथो खेलमा पहिले ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो। जवाफमा नेपाल ‘ए’ ले ९ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो।
कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन। त्यस्तै इशान पाण्डेले २७ रनको योगदान दिए भने आदिल अन्सारी र शेर मल्लले ११–११ रन बनाए।
असमका लागि अभिनव चौधरी र अब्दुल कुरैशीले तीन–तीन विकेट लिए भने सादिक हुसेनले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो।
आसामका लागि कप्तान सुमित घडियानाकरले अविजित ७० रन बनाए। ऋषिकेश तामुलीले ४६ र निहार डेकाले ३७ रन जोडे।
नेपालका लागि आकाश चन्दले दुई तथा बसिर अहमदले एक विकेट लिए।
सिरिजको पाँचौं र अन्तिम खेल – निर्णायक – आज साँझ ५ बजे हुनेछ।


